
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज सार्वजनिक गरेको छ ।
केही ढिलो गरि आएको समीक्षामा नीतिगत ब्याजदरहरु यथावत् नै कायम गरिएको छ । अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई पनि यथावत् नै राखिएको छ ।
यसैगरी लघुवित्त वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरिने भएको छ । उक्त व्यवस्थासँगै अब लघुवित्त संस्थाहरुको ब्याजदर पनि प्रतिस्पर्धात्मक बन्ने देखिन्छ जसले लघुवित्तको नाफामा केही संकुचन हुन सक्ने अनुमान गरिएको छ । यसले संस्थाहरुबीच ब्याजदरमा भने स्थीरता ल्याउने देखिएको छ जसकारण अनन्त लघुवित्तहरुको व्यापार विस्तार हुने सम्भावना रहने जानकारहरु बताउँछन् ।
समीक्षा अनुसार अब व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (Loan to Value Ratio) को सीमालाई ६० प्रतिशत कायम हुने भएको छ । बैंक तथा वित्तीय संस्थामा हाल रहेको असल कर्जाको १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १० प्रतिशत झारिने भएको छ जसले बजारमा तरलता थप सहज बनाउने देखिएको छ । प्रोभिजनिङले सिथिल बनेका वित्तीय संस्थालाई यस व्यवस्थाले फाइदा पुर्याउने देखिएको छ ।
यसैगरी नन् डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम हुने गरि नीतिको समीक्षाले व्यवस्था गर्ने भएको छ ।