२०२४ सकिन अब ११ दिन मात्र बाकिँ छ । सेयरबजारका लगानीकर्ताले भने अब २०२४ मा ६ दिन मात्र सेयर कारोबार गर्न पाउनेछन् । यसै सन्दर्भमा पछिल्ला पाँच वर्षमा सेयर बजारले कसरी वर्षको बिदाई लिएको थियो र त्यसपछि कस्तो यात्रा तय गरेको थियो, एउटा ट्रेन्ड एनालिसिस मार्फत हेरौँ ।
सन् २०१९ मा वर्षको अन्त्य बजारले ११६६ अङ्कको विन्दुमा गरेको थियो । सो समय सेप्टेम्बरबाट करिब ३ महिना साइडवेज चलेको बजारले २०२० को जनवरीबाट भने गति लिएको थियो र मार्चसम्म १६६७ अङ्कको विन्दुसम्म वृद्धि भएको थियो ।
सन् २०२० को डिसेम्बर अघि पनि बजार केही समय साइडवेज नै चलेको थियो । त्यस समय बुलिस मोमेन्टममा रहेको बजार नोभेम्बर र डिसेम्बर साइडवेजमै चलेर वर्षको अन्त्य २०८७ अङ्कको विन्दुमा गरेको थियो । त्यसबेला पनि सन् २०२१ को जनवरीको शुरूवात बाटै गति लिएको बजारले फेब्रुअरी २२ मा करेक्सन लिनुपूर्व २६७६ अङ्कको त्यस बेलाको अल टाइम हाइ विन्दु चुमेको थियो ।
सन् २०२१ को डिसेम्बर बजार तीव्र गिरावटको मुडमा रहेको थियो । ३२२० को अल टाइम विन्दु चुमेर झर्दै गरेको बजार डिसेम्बरको अन्त्यमा २५२४ अङ्कको आइपुगेको थियो । त्यसबेला डिसेम्बर मै बजार २२८२ अङ्कको विन्दुसम्म झरेको थियो । २०२२ को जनवरीमा भने अघिल्ला दुई वर्षको ट्रेन्डलाई नै निरन्तरता दिँदै बजारले उकालो यात्रा लिएको थियो । छोटो समयमै जनवरीमै बजारले २९८१.९२ को हाइसम्म अपट्रेन्ड लिएर बजार पुन बियरिस मोमेन्टम मै फर्किएको थियो ।
सन् २०२२ को डिसेम्बरमा बजार पुन २०१९ कै लय समात्दै सेप्टेम्बर देखि नै साइडवेजमा रहेको थियो । नेप्से परिसूचक डिसेम्बरको अन्तिम साता १८५५ अङ्कसम्म झरेकोमा बजारले अघिल्ला वर्ष झै अपट्रेन्ड लिँदै जनवरीमा २२७७ अङ्कको विन्दुसम्म पुगेर ओरालो यात्रा थालेको थियो । सन् २०२३ को डिसेम्बरमा पनि १८४१ अङ्कसम्म झरेको बजारले अघिल्ला वर्ष झै अपट्रेन्ड लिँदै २०२४ को जनवरीमा २२१५ अङ्कको विन्दुसम्म पुगेर ओरालो यात्रा थालेको थियो ।
यसरी अघिल्ला वर्षहरुको ट्रेन्ड हेर्दा बजारले डिसेम्बरमा एउटा न्यून विन्दु पुगेर जनवरीमा सानो भए पनि एउटा अपट्रेन्ड लिने गरेको इतिहास देखिन्छ । यसरी हेर्दा डिसेम्बरको आगामी दिनमा बजारले एउटा न्यून विन्दुमा सपोर्ट लिएर पुन एउटा उल्लेख्य अपट्रेन्ड लिने अपेक्षा गर्न सकिन्छ ।
नोट : सेयरबजार जोखिमको क्षेत्र हो । लगानी गर्दा स्वविचार गरेर मात्रै लगानी गर्नुहोला ।