आइतबार भोटे जात्राको अवसरमा गृह मन्त्रालयले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
यस सँगै नेप्सेको बिदा सूचीमा नभए पनि आइतबार सेयरबजार बन्द रहने भएको हो । नेप्सेले वेबसाईटमा प्रकाशन गर्ने वार्षिक बिदाको सूचीमा भोटेजात्रा राखिएको भने छैन । भोटेजात्राको मिति सरिरहने हुँदा बिदा सूचीमा नराखिने हो ।
काठमाडौं उपत्यकामा मात्र मनाइने घोडे जात्रा लगायत बिदामा देशभरका लगानीकर्ताको प्रतिनिधित्व गर्ने सेयर बजार बन्द हुने गर्दा लगानीकर्ता निराश हुने गरेका छन् । अपट्रेन्ड समाएको सेयरबजार तीन दिन बन्द भएर अब एकैचोटि सोमबार मात्र खुल्नेछ । यसरी उपत्यकामा हुने ससाना बिदामा समग्र सेयरबजार बन्द गरिँदा लगानीकर्ताले सेयरबजार उपत्यकामा मात्र सीमित प्रश्न गर्ने गरेका छन् ।
क्यालेन्डरमै अत्यधिक बिदा हुने गरेको नेपालमा सेयर बजार जस्तो विशुद्ध व्यवसायिक थलो पनि बिदाको मारमा पर्ने गरेको छ । दैनिक २० अर्ब बढीको व्यापार हुने बजारमा लगातार बिदा हुँदा सरकारको राजस्व संकलनमा समेत प्रभाव पर्ने देखिन्छ । यसरी हेर्दा नेप्सेमा हुने बिदामा पुरर्विचार गर्नै पर्ने देखिएको नेप्सेमा संलग्न व्यवसायिकहरुको भनाई छ ।