एक महिनाको छोटो समयमै करिब ४६० अङ्कले बढेको हाइड्रोपावर इन्डेक्समा सोमबार सुटिङ स्टार क्यान्डल देखिएको छ ।
अक्सर सुटिङ स्टार क्यान्डल ट्रेन्ड रिभर्सलको संकेत मान्न सकिन्छ । उच्च वृद्धि भएपश्चात् करेक्सनको शुरुवातको जनाउ घन्टी मानिने सुटिङ स्टार क्यान्डल यसअघि पनि हाइड्रोपावर इन्डेक्स उच्च विन्दुमा पुग्दा देखिएका थिए ।
गत साउन ३१ गते हाइड्रो इन्डेक्सले अल टाइम हाइ बनाउँदै ३८८२ विन्दु चुम्दा पनि सुटिङ स्टार क्यान्डल बनेको थियो । त्यसपछि हाइड्रोपावर सेक्टरमा उच्च गिरावट देखिएको थियो भने इन्डेक्स २९३० अङ्कको विन्दुसम्मै झरेको थियो । यसैगरी मङ्सिर १९ मा पनि सोही प्रकृतिको क्यान्डल बनेपछि हाइड्रो इन्डेक्समा राम्रै करेक्सन आएको थियो ।
सुटिङ स्टार सँगसँगै अर्को महत्त्वपूर्ण पक्ष भोल्युमले पनि प्याटर्नलाई यसपटक पनि साथ दिएको छ । माथि उल्लेखित हरेक सुटिङ स्टार प्याटर्न बन्दा भोल्युम पनि उच्च आउने गरेको छ । सोमबार पनि हाइड्रो सेक्टरमा अघिल्ला दिनहरुको औसत भन्दा उच्च अर्थात ४ अर्ब ३३ करोड भोल्युम देखिएको छ ।
सुटिङ स्टार प्याटर्न मार्फत लगानीकर्ताको मनस्थिति पनि स्पष्ट झल्किएको पाउन सकिन्छ । बजार उच्च विन्दुमा पुगेपछि लगानीकर्ताले बिक्री दबाब बढाउँदै लगेको र बजार जुन विन्दुमा खुलेको थियो सोही विन्दुमा पुगेर बन्द भएको उक्त क्यान्डल स्टीकले दर्शाउँछ । ३७२५ को विन्दुमा खुलेर ३७८० को उच्च विन्दुमा सस्टेन गर्न नसके पछि बजार पछि हट्दै घटेर ३७३७ अङ्कमा सोमबार बन्द भएको थियो ।
पछिल्ला ट्रेन्डहरु हेर्दा उक्त क्यान्डल स्टीकले रिभर्सलको संकेत दिएपनि लगानीकर्ता हाइड्रो सेक्टर मै उत्साहित रहेको खण्डमा इन्डेक्सले अल टाइम हाई ब्रेक गर्ने सम्भावना भने रहिरहन्छ ।
नोट : सेयरबजार जोखिमको क्षेत्र हो । लगानीकर्ताले आफ्नो स्वविवेक प्रयोग गरेर लगानी गर्न अनुरोध गरिन्छ ।