
नेपाल स्टक एक्सचेञ्ज नेप्सेले स्टकको अन्तिम मूल्य गणना गर्न ल्याएको नयाँ नियमको दुरुपयोग हुन थालेको छ ।
अन्तिम सेकेन्डमा अस्वाभाविक मूल्य उतारचढाव रोक्न भन्दै नेप्सेले अन्तिम १५ मिनेटको कारोबारको भारित औसत निकाली त्यसैलाई अन्तिम मूल्य मान्ने नयाँ नियम ल्याएको थियो । तर नियम लागू भएको केही दिनमै त्यसको लूपहोल निकाली उक्त प्रयोगको दुरुपयोग हुन थालिसकेको छ ।
नयाँ नियम अनुसार कुनै स्टकको अन्तिम १५ मिनेटमा हुने सबै कारोबारको कुल रकम निकाली कुल कारोबार कित्ताले भाग गर्दा आउने रकम नै अन्तिम मूल्य मानिने गरिएको छ । यसो गर्दा अन्तिम समयमा एमकेटी फिचर प्रयोग गरि १० कित्ता किनबेच गरि हुने अस्वाभाविक उतारचढाव रोकिएपनि नियमको दुरुपयोग गर्ने नयाँ तरिका निकालिएको छ । अहिले खेलाडीहरुले आफैले होल्डिङमा रहेको ठूलो कित्ता म्याचिङ गरि उच्च मूल्यमा औसत भार पुर्याएर त्यसपछि आफ्नो बाकिँ कित्ता डम्प गर्न थालेका छन् । यसो गर्दा अन्तिम कारोबार मूल्य उच्च नै रहिरहने आफ्नो कित्ता डम्प गर्न पनि सहज हुने देखिएको छ ।
उसो त यो सबै खेल हुने कर्नरिङ गरिएका स्टक मै हुन् त्यसैले अन्तिम १५ मिनेटको नियम यस्ता स्टकमा थप डरलाग्दो हुने देखिएको छ । उदाहरणका लागि अन्तिम १५ मिनेटमा औसत १०,००० कित्ता कारोवार हुने कुनै सेयरको मूल्य २५०० आसपास खरिदबिक्री भइरहेको छ । यस्तो अवस्थामा ठूलो कित्ता होल्ड गरिबसेका कुनै अमुक खेलाडीले २५५० मूल्यमा थप २०००० कित्ता म्याचिङ गराइदिने गरेका छन् भने आफूसँग भएको अन्य कित्ता बजारमा न्यून मूल्यमै सप्लाई दिने गरेका छन् ।
यसरी हेर्दा अन्तिम मूल्य २५५० कै आसपास रहिरहँदा राम्रै संख्यामा सेयर कित्ता भने डम्प भइसकेको हुनेदेखिन्छ । त्यसैगरी यो नियमले सर्कुलर ट्रेडिङलाई थप फाइदा पुर्याउने सम्भावना छ भने खास गरि कर्नरिङ गरिएको सेयर अफलोड गर्न थप मद्दत पुर्याउने देखिएको छ । उसो त हरेक नियम, प्रविधिमा केही न केही कमजोरी हुने नै देखिन्छ तर त्यस कमजोरी बारे पहिले नै जानकार हुने, त्यस्ता लूपहोलको जडसम्म जान सक्ने क्षमता भएका नियामक हुनु अत्यावश्यक देखिन्छ ।