अमेरिकाले अनुमति दिएको २४ घन्टा नबित्दै युक्रेनले रसियामाथि अमेरिकी लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरि आक्रमण गरेको छ ।
रसियाले युक्रेनले प्रहार गरेका ६ मध्ये ५ क्षेप्यास्त्र खसालेको दाबी गरेको छ भने एउटा रसियन सैन्य भण्डार माथि खसेको जनाइएको छ । उक्त क्षेप्यास्त्रबाट कुनै क्षति भने नपुगेको जनाइएको छ । यता युक्रेनी सेनाले भने रसियन हतियार भण्डारलाई लक्षित गरि आक्रमण गरेको जनाएको छ । आक्रमण पश्चात् दोस्रो विस्फोटको आवाज समेत सुनिएको युक्रेनी सेनाको दाबी छ ।
रसियाको सीमाबाट करिब ११० किलोमिटर भित्र रहेको उक्त हतियार डिपोमा युक्रेनले कुन हतियारले आक्रमण गरेको भने उल्लेख गरेको छैन । तर यसै साता अमेरिकाले युक्रेनलाई लामो दूरीको अमेरिकी क्षेप्यास्त्रबाट हमला गर्न अनुमति दिएको हुँदा अमेरिकी क्षेप्यास्त्रले नै हमला गरिएको अनुमान गरिएको छ ।
रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले सेप्टेम्बरमा पश्चिमा देशले युक्रेनलाई त्यस्ता हतियार प्रयोग गर्न अनुमति दिएमा ती देशसँग सिधा युद्ध हुने चेतावनी दिएका थिए । त्यस्ता हतियार रुसविरुद्ध प्रयोग भए आणविक हमला गर्न समेत पछि नपर्ने रसियाले बताउँदै आएको छ । पछिल्लो युक्रेनी हमलाले अवस्थालाई थप तनावपूर्ण बनाएको छ ।