काठमाडौंका ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बजार, प्लाष्टिकका फूल विक्रीमा प्रतिबन्ध

काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ ।

प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरेको महानगरका मेयर बालेन शाहले जानकारी दिएका हुन् । उनले गत वर्ष पनि प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाइएको जानकारी दिँदै यसपालि गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास बनाउने पनि बताएका छन् । यसपटक फूल बिक्री गर्न मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ ।

स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्नेछन् जसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण काम हुने जनाइएको छ । थप जानकारीका लागि फूल कृषकले काठमाडौं महानगरपालिकाको निःशुल्क नम्बर ११८० मा कल गर्न सक्नेछन् ।

यसैगरी मेयर शाहले व्यापारीहरूलाई फूल तथा अन्य सजावटका सामग्री विक्री वितरण नगर्न नगराउन पनि अनुरोध गरेका छन् । यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बालेनले चेतावनी दिएका छन् । उनले सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्नुहुन पनि अनुरोध गरेका छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button