काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ ।
प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरेको महानगरका मेयर बालेन शाहले जानकारी दिएका हुन् । उनले गत वर्ष पनि प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाइएको जानकारी दिँदै यसपालि गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास बनाउने पनि बताएका छन् । यसपटक फूल बिक्री गर्न मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ ।
स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्नेछन् जसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण काम हुने जनाइएको छ । थप जानकारीका लागि फूल कृषकले काठमाडौं महानगरपालिकाको निःशुल्क नम्बर ११८० मा कल गर्न सक्नेछन् ।
यसैगरी मेयर शाहले व्यापारीहरूलाई फूल तथा अन्य सजावटका सामग्री विक्री वितरण नगर्न नगराउन पनि अनुरोध गरेका छन् । यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बालेनले चेतावनी दिएका छन् । उनले सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्नुहुन पनि अनुरोध गरेका छन् ।