समता घरेलु लघुवित्तको एफपीओ आज शुक्रबार बाँडफाँड हुँदैछ ।
एफपिओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको आफ्नै कार्यालय नारायणचौर काठमाडौंमा शुक्रबार बिहान ९ बजे एफपिओ बाँडफाँड हुने भएको हो । एफपिओमा १४ लाख ४२ हजार ४२० जनाले कुल २ करोड १३ लाख ८ हजार ५७० कित्ताको लागि आवेदन दिएका छन् । जसध्ये गोलाप्रथाबाट ३५ हजार ९० जनाले मात्र सेयर हात पार्नेछन् ।
कार्तिक १२ गतेदेखि सर्वसाधारणमा निष्कासन खुला गरिएको एफपिओमा मागभन्दा ६० गुणा धेरै आवेदन परेको छ । कम्पनीले ३ लाख ५० हजार ९०० कित्ता सेयरका लागि आवेदन माग गरेको थियो । कम्पनीले प्रति कित्ता अङ्कित मूल्य १०० रुपैयाँमै न्यूनतम १० कित्ताका लागि आवेदन माग गरेको हो ।
एफपिओको नतिजा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाईट, मेरोसेयरको वेबसाईट तथा सिडिएससीको वेबसाईटमार्फत हेर्न सकिनेछ । बिहीबार दोस्रो बजारमा उक्त लघुवित्तको अन्तिम कारोबार प्रति कित्ता ९१२ रुपैयाँमा भएको थियो । यस हिसाबले करलगायत ब्रोकर शुल्क बाहेक एफपिओ पर्नेलाई आजै प्रति कित्ता ८१२ का दरले ८१२० रुपैयाँ कागजी नाफा हुनेछ ।