नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट आज ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
बैंकले २१ दिने निक्षेप संकलन उपकरण मार्फत कार्तिक २८ देखि मङ्सिर १९ गतेसम्मका लागि ५० अर्ब निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि आवेदन दिन सक्नेछन् । ती संस्थाले घटीमा १० करोड देखि सो भन्दा माथि ५ करोडले भाग गर्दा निशेष भाग जाने रकम ५० अर्बसम्मै बोल गर्न सक्नेछन् ।
संकलित निक्षेपको साँवा तथा ब्याज राष्ट्र बैंकले मङ्सिर १९ गते भुक्तान गर्नेछ । ब्याजको हकमा सबैभन्दा कम कबोल गरिएको ब्याजलाई पहिलो प्राथमिकतामा राखी त्यसै क्रमले बोल गरिएको रकम क्रमश: बाँडफाँड हुनेछ । यसरी निक्षेप संकलन गरिएको रकम तरलता अनुपात तथा एसएलआरमा बैंक तथा वित्तीय संस्थाले गणना गर्न पाउनेछन् ।
बैंक तथा वित्तीय संस्थामा तरलता बढे पनि कर्जा विस्तार भने उत्साहजनक हुनसकेको छैन । अहिले सिडि रेसियो ७८.०५ प्रतिशत रहँदा अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।