स्टक मार्केटअन्तर्गत नेपालको एउटै चल्दोफिर्दो इन्स्ट्रुमेन्ट सेयर बजारको रिटर्न देखेर धेरै जना ट्रेडिङ गर्न लालायित हुँदै आउनुभएको छ । तर ट्रेडिङका आधारभूत नै नजानी बजारमा होमिँदा कमाउनुको साटो धेरै गुमाउनु भएको कथाहरु सामाजिक सञ्जालभरी छ्यापछ्याप्ती देख्न पाइन्छ । सेयरबजारमा सफल हुन अनुशासन र ज्ञानको निकै आवश्यक छ, त्यसैले के असल र अनुशासित सेयर कारोबारी बन्न मन छ ?
यदि छ भने आउनुहोस् सेयरबजारमा ट्रेडिङ थाल्नुअघि जान्नै पर्ने केही विषयहरुलाई आज नियालौँ । ट्रेडिङ गर्नु अघि सबैभन्दा पहिले बुझ्नु पर्ने नेपाली बजारलाई नै हो । बजारको प्रवृत्ति, विशेषता, प्रक्रिया जस्ता विषय बारे कम्तिमा पनि सामान्य ज्ञान लिएर बजारमा प्रवेश गर्दा मात्र सफल ट्रेडर बन्न सकिन्छ । सेयर बजारको मुख्य प्रवृत्ति भनेको बियरिस वा बुलिस नै हो । त्यसमा पनि ससाना अपट्रेन्ड र डाउनट्रेन्ड आइरहेका हुन्छन् । प्रवृत्ति चिनेर मात्र बजारमा प्रवेश गर्दा आफ्नो ट्रेडिङ वा इन्भेस्टिङ उद्देश्य बमोजिमको लाभ हासिल गर्न सकिन्छ । नेपाली बजारको अर्को विशेषता भनेको यो वान वे मार्केट हो । यहाँ बजार बढ्दा मात्र नाफा कमाउन सकिन्छ । त्यसैले सक्रिय ट्रेडरहरु बजार घट्न थाले आफ्नो पुरै पूँजी झिकेर बैंकमा थन्क्याएर बस्न पनि पछि पर्दैनन् । कारोबार अचानक आउने ठूलो उछाल वा गिरावटको कारण पनि यही हो । बजार बढ्न थाले पूरै पूँजी बोकेर होमिने घट्न लाग्दा प्यानिक भई पाए जतिकै मूल्यमा बेचेर निस्कने नेपाली बजारमा नौलो दृश्य हैन ।
सेयरबजारको प्रक्रिया बारे कुरा गर्दा नेपालमा सेयर किनेको दुई दिन पछिमात्र खातामा आउनेगर्दछ । यदि फल्स ब्रेकआउटमा वा नन ट्रेन्डिङ स्टकमा पर्नुभयो भने खातामा सेयर आउनुअघि नै कतिपयले घाटा बेहोरिसक्नुभएको हुनेगर्दछ । त्यसपछि क्याचअप वा एभरेजिङको खेलमा लाग्दा ट्रेडरको पूँजी तथा समय दुवै खेर जाने गर्दछ । तसर्थ केही रिस्की स्टक छ र ट्रेडिङ गर्न चाहनुहुन्छ भने उक्त स्टक बुधबार वा बिहीबार किन्दा उपयुक्त हुन्छ । कारण ती दिन किनेको स्टक एक कारोबार पछि नै आफ्नो खातामा पाउनुहुनेछ । एक कारोबारमा खातामा स्टक आउँदा गुमाउने सम्भावना त थोरै रहन्छ नै ट्रेडिङ सेटअपमा छिटै इन्ट्री पनि लिन सकिन्छ ।
ट्रेडिङ गर्दा भुल्नै नहुने अर्को चिज भनेको आफ्नो पूँजी व्यवस्थापन हो । उसो त कतिपय ट्रेडरले ब्रोकरले दिएको कोल्याट्रलबाट नै उधारो कारोबार चलाउँदै आएका छन् । तर यसको जोखिम पनि उत्तिकै रहन्छ किनकी ब्रोकरको उधारो मिलाउन फोर्स सेटलमेन्ट गर्दा घाटामा पर्ने वा अधिकतम नाफा हासिल गर्न नसक्ने उच्च सम्भावना रहनेगर्दछ । तसर्थ आफ्नै पूँजीले कारोबार गर्दा उचित रहन्छ भने आफ्नो पूँजीलाई दुई वा तीन भागमा बाँडि ट्रेड गर्दा सर्वोत्तम रहन्छ ।
ट्रेडिङका लागि पूँजी तयार, माथिका सामान्य तरिकाबारे जानकारी लिएपछि अब ट्रेडिङका लागि सही स्क्रीप्ट छान्नुपर्ने हुन्छ । ट्रेडिङ गर्न प्रयास गर्दै गर्दा सधैं मेजर ट्रेन्ड छुट्ने, सेयर बेच्ने बित्तिकै बढ्ने र किन्ने बित्तिकै घट्ने हुँदै आएको छ भने सेयर छान्न र सही समयमा इन्ट्री गर्न सही स्क्रीप्ट चिन्नैपर्ने हुन्छ । यसको बारे हामीले ट्रेडिङ एसेन्सियल भनेर ट्रेडिङ ट्रेनिङको शृङ्खला नै बनाउने जमर्को गरेका छौँ । यसका लागि तल दिइएको लिङ्कबाट हाम्रो फेसबुक ग्रुपमा जोइन भई आगामी शृङ्खलाहरु बारे अपडेटेड रहन सकिनेछ ।
लिङ्क : http://www.facebook.com/groups/arthatantra
स्क्रीप्ट छान्दा बजारमा भएका सयौँ स्क्रीप्टबारे अध्ययन गर्न कठिनाई परे नेपालमा उपलब्ध विभिन्न सेयर सम्बन्धि सफ्टवेयर मार्फत ट्रेन्डिङ स्टक, स्टक हिटम्याप जस्ता टुल्सहरु प्रयोग गर्न सकिनेछ । गुगलमा सामान्य सर्चमार्फत नै यी टुल्सहरु सहजै उपलब्ध हुने गर्दछ भने अझ विस्तृत वा लामो टाइमफ्रेमका लागि यी टुलहरु प्रयोग गर्नुपरेमा सशुल्क सेवा पनि लिनसकिन्छ । यसै गरि नेपाली बजारमा ठूला कारोबारीको प्रभुत्व निकै नै उल्लेख्य रहँदै आएको छ । सेयरबजारको इन्डेक्स मुभमेन्ट विपरीत नै पनि ठूला कारोबारी लागेको स्क्रीप्ट चल्ने गर्दछ । तसर्थ ब्रोकर एनालिसिस मार्फत त्यस्ता ट्रेन्डिङ स्क्रीप्ट थप भेरिफाई गरि तिनैमा ट्रेडिङ गर्दा उच्च प्रतिफल प्राप्त गर्न सकिन्छ ।
स्क्रीप्ट छानेर खरिद गरिसकेपछि नाफालाई म्याक्सिमाइज गर्ने पनि नेपाली ट्रेडरलाई अर्को चुनौती बनेको देखिन्छ । “किन्न सबैले सिकाउने बेच्न कसैले नसिकाउने” सेयरबजारमा अत्यधिक सुनिँदै आएको अर्को गुनासो हो । ट्रेडरले आफूले छानेको सेयरको रेजिस्टेन्स, च्यानल ब्रेक डाउन, ठूला लगानीकर्ताको पोजिसन जस्ता विषय बारे पनि जानकारी लिनै पर्नेहुँदछ । ट्रेन्डिङ स्क्रीप्टमा रेजिस्टेन्स ट्रेडरले अवसरका रुपमा लिन सक्दछन् । खातामा भएको सेयर त्यसै दिन किनेर त्यसै दिने बिक्री गरि हुने इन्ट्राडे ट्रेड पनि बिस्तारै नेपाली बजारमा बढ्दै गएको छ । यसरी विकसित हुँदै गएको सेयरबजारलाई थप प्रभावकारी बनाउने, सेटलमेन्ट डे घटाउने, अप्सन, फर्वार्ड जस्ता लगानीका नयाँ इन्स्ट्रुमेन्ट भित्र्याउने जस्ता विषयमा पनि लगानीकर्ताले निरन्तर आवाज उठाइरहनुपर्ने पनि आजको आवश्यकता देखिएको छ ।
यसरी केही मेहेनत, आधारभूत ज्ञान र अनुशासनलाई ध्यान दिएर सेयरबजारबाट ट्रेडिङमार्फत राम्रो आम्दानी लिन सकिन्छ । विशेषगरि विद्यार्थी वर्ग, गृहिणी लगायत सेयरबजारमा समय दिन सक्नेहरुका लागि ट्रेडिङ आम्दानीको प्रभावकारी विकल्प बन्न सक्दछ । ट्रेडिङ ट्रेनिङको आगामी शृङ्खला स्टक छान्न सिकाउने विशेष शृङ्खला हुनेछ । त्यसका लागि प्रतिक्षा गर्नुहोला …