मङ्गलबार पनि सेयरबजारमा करेक्सन जारी रहँदा नेप्से परिसूचक १३.०९ अङ्कले घटेको छ । यस सँगै सेयरबजार लगातार ५ कारोबार दिनसम्म ओरालो लागेको छ ।
एक बजेसम्म उकालो यात्रामै रहेको बजारमा त्यसपछि भने गिरावट आई अन्त्यमा १३.०९ अङ्कले घटेर २६३२.९४ अङ्कको विन्दुमा बन्द भएको हो । हिजो पनि मध्यान्हसम्म बढेर बजारले त्यसपछि ओरालो यात्रा थालेको थियो । बिहान बजार बढ्दा उत्साहित बनेका लगानीकर्ता अन्त्यमा बजार घटेपछि भने निराश बनेका छन् । कतिपय प्राविधिक विश्लेषक तथा अनलाइन मिडियाले २६४० आसपासको विन्दु सपोर्ट हुन सक्ने भनेपछि सेयर किनेका लगानीकर्ताले बजारले आज पनि झुक्याएको प्रतिक्रिया दिएका छन् ।
आज ६७ कम्पनीको सेयरभाउमा बढ्दा १७० कम्पनीको सेयरभाउमा गिरावट आएको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । आज कुल ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ रुपैयाँ कारोबार भएको छ जुन करिब दुई महिना यताकै न्यून भोल्युम हो । मङ्गलबार एचआइडिसिएल पि सेयरको सबैभन्दा उच्च कारोबार भएको छ ।
आज सर्वाधिक कमाउने कम्पनीमा थ्रीस्टार हाइड्रोपावर र मानुषी लघुवित्त कम्पनी रहे । उक्त कम्पनीको सेयरभाउ १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । यसैगरी आज सर्वाधिक गुमाउनेतर्फ स्वरोजगार लघुवित्त र मुक्तिनाथ कृषि कम्पनी रहे । ती कम्पनीको सेयरभाउ ५ प्रतिशत कै हाराहारीमा बढीले घट्यो ।
उपसूचकतर्फ ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ०.७९ प्रतिशतले बढ्दा फाइनान्स समूहको उपसूचक सर्वाधिक ०.९९ प्रतिशतले घट्यो ।