अघिल्लो साता चार दिन मात्रै सेयर कारोबार हुँदा दुई दिन बजार ओरालो लाग्दा दुई दिन बजार सामान्य वृद्धि भएको थियो । चार दिनमा कुल ३७ अर्ब ५८ करोडको कारोबार हुँदा नेप्से परिसूचकमा भने ६८.३४ अङ्कको गिरावट भयो ।
राजनीतिक अस्थीरताको हल्ला, विभिन्न समूहको प्रदर्शन, नेप्सेले जारी गरेको स्टक डिलरका लागि कारोबार योग्य कम्पनीको सूची लगायत विषयले अघिल्लो साताको कारोबार प्रभावित पारेको थियो । बिहीबार खास गरि बजारमा प्यानिक सेल नै देखिएको थियो । तर प्रधानमन्त्रीबाट निरन्तर राजनीतिक समीकरण फेरबदलको सम्भावना नरहेको टिप्पणी तथा विभिन्न समूहको प्रदर्शन शान्तिपूर्ण नै रहँदा लगानीकर्ता ब्लफमा परेको कतिपयको बुझाई छ । यसैगरी नेप्सेले जारी गरेको स्टक डिलरलाई लक्षित गरि सूची नियमित प्रक्रिया रहेको र अघिल्लो सूची भन्दा हालको सूचीमा कारोबार योग्य कम्पनीको संख्या समेत उल्लेख्य रुपमा वृद्धि भएको छ । यसले पनि बजारमा थप माग सिर्जना गराउने देखिन्छ ।
यो साता धितोपत्र बोर्डको नेतृत्व नियुक्ति प्रक्रिया सूचारु, राष्ट्र बैंकको मौद्रिक नीतिको त्रैमासिक समीक्षा लगायत विषयले बजारको माहोल प्रभावित पार्ने सम्भावना रहेको छ । साथै घट्दो ब्याजदर सँगै बढेको सेयर धितो कर्जा लगायतको प्रभाव पनि बजारमा देख्न सकिने अनुमान गरिएको छ । कन्ट्री रेटिङमा नेपालले आशा गरे भन्दा पाएको राम्रो नतिजा, सरकार र एनआरएनको संयुक्त लगानीमा इन्भेस्टमेन्ट कम्पनी खोल्न सकिने गरि तयार गरिएको कार्यविधि लगायतको समाचारले पनि यो साताको कारोबार प्रभावित पार्ने देखिन्छ ।
अघिल्लो साताको पहिलो दिन आइतबार बजार खुल्दा २७५३.४३ विन्दुमा रहेको नेप्से परिसूचक बिहीबार २६८०.४४ विन्दुमा बन्द भएको थियो । गत साता बजारमा ६८.३४ अङ्कको गिरावट आए पनि सेयर कारोबार भने उत्साहजनक नै रहेको थियो छ । चार दिनमा कुल ३७ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जस अनुसार औसतमा हेर्दा दैनिक करिब ९ अर्ब ४० करोड बराबरको कारोबार भएको हो ।
उपसूचकतर्फ हेर्दा यो साता बैंकिङ उपसूचक ३७.१५ अङ्कले घटेको छ । यसैगरी विकास बैंक उपसूचक ९.२४ अङ्कले घटेको छ । हाइड्रोपावर उपसूचकमा पनि यो साता ८२.७५ अङ्कले घटेको छ । फाइनान्स उपसूचक पनि २१३.५ अङ्कले घटेको छ ।
आइतबार बजार खुल्दाको कुल पुँजीकरण ४३ खर्ब ८४ अर्ब रुपैयाँ रहेकोमा बिहीबार बजार बन्द हुँदा कुल बजार पुँजीकरण बढेर ४२ खर्ब ६८ अर्ब पुगेको छ । अर्थात यो साता समग्र लगानीकर्ताको सम्पत्तिमा एक खर्ब १६ अर्ब रुपैयाँले गिरावट भएको छ ।