प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई १०.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यसैगरी बैठकले २०८१ असोज २३ गते बस्ने गरी सातौं वार्षिक साधारण सभा पनि आह्वान गर्ने निर्णय गरेको छ । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
साथै छैठौं साधारण सभाबाट तत्कालिन चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएकोमा सो निर्णय पुनरावलोकन गरी बोनस शेयर वितरण पश्चात कायम हुन आउने चुक्ता पूँजी को ७ प्रतिशत बराबर को हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गरिने कम्पनीले जनाएको छ ।