बुधबार पनि सेयरबजारमा करेक्सन जारी रहँदा नेप्से परिसूचक २२.७३ अङ्कले घटेको छ । यस सँगै सेयरबजार लगातार ६ कारोबार दिनसम्म ओरालो लागेको छ ।
बजार आज २२.७३ अङ्कले घटेर २६१०.२१ अङ्कको विन्दुमा बन्द भएको हो । हिजो झै आज पनि मध्यान्हसम्म बढेर बजारले त्यसपछि ओरालो यात्रा थालेको थियो । आज नेप्से परिसूचक २६०२ अङ्कको विन्दुसम्मै पुगेर अन्त्यमा सामान्य उकालो लागेको थियो ।
आज ६५ कम्पनीको सेयरभाउमा बढ्दा १७५ कम्पनीको सेयरभाउमा गिरावट आएको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ । आज कुल ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँ कारोबार भएको छ जुन दुई महिना यताकै न्यून भोल्युम हो । मङ्गलबार सिइडिबी हाइड्रोपावर कम्पनीको सेयरको सबैभन्दा उच्च कारोबार भएको छ ।
आज सर्वाधिक कमाउने कम्पनीमा थ्रीस्टार हाइड्रोपावर र विन लघुवित्त कम्पनी रहे । उक्त कम्पनीको सेयरभाउ १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । यसैगरी आज सर्वाधिक गुमाउनेतर्फ एसियन हाइड्रो र कर्पोरेट विकास बैंक रहे । ती कम्पनीको सेयरभाउ ५ प्रतिशत भन्दा बढीले घट्यो ।
उपसूचकतर्फ फाइनान्स समूहको उपसूचक सर्वाधिक ०.४३ प्रतिशतले बढ्दा लाइफ इन्स्योरेन्स समूहको उपसूचक सर्वाधिक १.८५ प्रतिशतले घट्यो ।