आज पुस ५ गतेदेखि महुली लघुवित्त वित्तीय संस्थाको एफपिओमा खरिद आवेदन दिन सकिने भएको छ ।
पुस ५ गतेदेखि पुस ९ गतेसम्म लघुवित्तको एफपिओमा आवेदन दिन सकिने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख गरिएको छ । लघुवित्तले ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर एफपिओ जारी गर्न लागेको हो । पछिल्लो ट्रेन्ड अनुसार लघुवित्तको एफपिओमा अत्यधिक आकर्षण हुँदा माग भन्दा निकै उच्च आवेदन पर्ने गरेको छ । यस हिसाबले एक जनालाई १० कित्ता सेयर मात्र पर्ने हुँदा १० कित्ताकै लागि आवेदन दिँदा उचित हुने देखिन्छ । कम्पनीको आह्वानपत्र अनुसार भने न्यूनतम १० देखि अधिकतम १००० कित्ताका लागि आवेदन दिन सकिनेछ ।
एक सय रुपैयाँ अंकित मूल्यमा लघुवित्तले एफपिओ मार्फत ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ रकम उठाउने छ । एफपिओ अघि लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ८०.३२ प्रतिशत र सर्वसाधारणको १९.६८ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको कम्पनीले जनाएको छ ।
एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तको अघिल्लो आवको अपरिष्कृत विवरण अनुसार प्रती सेयर नेटवर्थ २०८.४ रुपैयाँ र प्रती सेयर आम्दानी २१.४४ रुपैयाँ रहेको छ । कम्पनीको दोस्रो बजारमा प्रति कित्ता १५२७ रुपैयाँमा कारोबार भइरहेको छ ।