मङ्गलबार सेयरबजारमा सामान्य अङ्कको गिरावट आएको छ भने बजारको ओरालो यात्रा लगातार पाँच दिनसम्म लम्बिएको छ । बजार लगातार घटेपनि पछिल्लो दिनहरुमा कारोबारमा भने गिरावट आएको छ ।
उतारचढावबीच आज ६.३२ अङ्कले घटेर सेयरबजार २६६९.८२ अङ्कको विन्दुमा बन्द भएको हो । २६६०-७० अङ्कको लामो समयको सपोर्ट आसपास नै रहेर बजारमा दिनभरि कारोबार भएको छ । आज ८५ स्क्रीप्टको सेयरभाउमा बढ्दा १४८ कम्पनीको सेयरभाउमा गिरावट आएको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ । आज कुल ४ अर्ब ४१ करोड ३३ लाख २० हजार २९० रुपैयाँ कारोबार भएको छ जुन हिजोको भन्दा करिब एक अर्ब २२ करोड रुपैयाँले न्यून भोल्युम हो । मङ्गलबार एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सेयरको सबैभन्दा उच्च कारोबार भएको छ ।
आज सर्वाधिक कमाउने कम्पनीमा जोशी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, गणपति लघुवित्त, उपकार लघुवित्त र महिला लघुवित्त कम्पनी रहे । उक्त कम्पनीको सेयरभाउ ६ प्रतिशत भन्दा बढीले वृद्धि भयो । यसैगरी आज सर्वाधिक गुमाउनेतर्फ एनआरएन र एलआइसिएन रहे । उक्त कम्पनीको सेयरभाउ ३ प्रतिशत भन्दा बढीले घट्यो । उपसूचकतर्फ उत्पादन समूहको उपसूचक सर्वाधिक ०.३३ प्रतिशतले बढ्दा लाइफ इन्स्योरेन्स समूहको उपसूचक सर्वाधिक १ प्रतिशतले घट्यो ।
पछिल्लो दिनहरुमा बजार निरन्तर ओरालो लाग्दा कारोबार पनि खुम्चिदै गएको छ । यो साताको तीनै कारोबार दिन बजारमा भोल्युम लगातार घट्दै आएको छ । उसो त अघिल्लो बुधबार देखि नै घट्न थालेको बजारमा सो दिन देखि नै कारोबार सुस्ताउन थालेको थियो । बुधबार ९.१३ अर्बको कारोबार भएकोमा बिहीबार ८.३७, आइतबार ७.४६, सोमबार ५.६३ हुँदै आज मङ्गलबार कारोबार ४.४१ अर्बमा सीमित हुन पुगेको छ ।
घट्दो बजारमा कारोबार कम हुँदै जाँदा लगानीकर्ता अब घटेर बेच्न नचाहेको बुझ्न सकिन्छ । बजारले २६६० को सपोर्टलाई आज पनि परीक्षण गर्दै त्यसै आसपासको विन्दुबाट फर्किएको थियो । सोही सपोर्ट आगामी दिन पनि कायम रहेर बजार बढ्न थाले लगानीकर्ता पनि फर्किदै जाने हुँदा अब बजार बढ्न थाले छोटो समयमै ठूलो अङ्कले बढ्न सक्ने जानकारहरुको भनाई छ ।