मङ्गलबार सेयरबजारमा दोहोरो अङ्कको वृद्धि आउँदा नेप्से परिसूचक १७.८ अङ्कले बढेको छ । बजार दोहोरो अङ्कले बढेपनि कारोबारमा भने गिरावट आएको छ ।
उतारचढावबीच आज १७.८ अङ्कले बढेर सेयरबजार २७७५.८५ अङ्कको विन्दुमा बन्द भएको हो । बिहान २७८०-९० अङ्कको लामो समयको रेजिस्टेन्स तोडेर नेप्से इन्डेक्स २७९३ अङ्कसम्म पुगेपनि बजारले त्यसपछि भने ओरालो यात्रा थालेको थियो । आज १७४ स्क्रीप्टको सेयरभाउमा बढ्दा ११९ कम्पनीको सेयरभाउमा गिरावट आएको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ । आज कुल ८ अर्ब ५२ करोड १२ लाख १९ हजार २९९ रुपैयाँ कारोबार भएको छ जुन हिजोको भन्दा करिब २० प्रतिशतले न्यून भोल्युम हो । मङ्गलबार ङादी ग्रुप पावर कम्पनीको सेयरको सबैभन्दा उच्च कारोबार भएको छ ।
आज सर्वाधिक कमाउने कम्पनीमा इङ्वा हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावर कम्पनी रहे । उक्त कम्पनीको सेयरभाउ १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । यसैगरी आज सर्वाधिक गुमाउनेतर्फ अप्पर स्याङ्गे र जानकी फाइनान्स रहे । उक्त कम्पनीको सेयरभाउ ६ प्रतिशत भन्दा बढीले घट्यो ।
उपसूचकतर्फ ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ५.९७ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूहको उपसूचक सर्वाधिक १.७१ प्रतिशतले घट्यो ।