मुक्ति अर्याल । सन् २०२१ ताका बजार ३२०० उकालो चढ्दै गर्दा हरेक करेक्सनमा “सेयरबजार सुन्दर छ” वा “करेक्सन बजारको सुन्दरता हो” जस्ता ट्यागलाइन सामाजिक सञ्जाल भरि छ्यापछ्याप्ती देखिने गर्थे । यी ट्यागलाइन ठ्याक्क कसले शुरु गरे भन्ने कुनै आधिकारिक जानकारी नभए पनि त्यतिबेला राम्रैसँग खेती भएका यी पट्यार लाग्दा र आधा झुटले भरिएको ट्यागलाईन अझैपनि यताकता फल्ने फुल्ने गर्दै आएको छ ।
बजार ३२०० बाट १८०० सम्म झर्दा गुमनाम यो ट्यागलाईम बजार फेरि ३००० छुँदै गर्दा फेरि सामाजिक सञ्जालमा छाउन थालेको हो । तर के स्टक बजार सुन्दर साँचै छ त ? ३२०० बाट ओरालो लाग्दा बजार कतिलाई सुन्दर लाग्यो होला त ? कि यो ट्यागलाइन सिजनल हो ? यदि सिजनल नै भए पनि यसले दर्शाउने भनेको यो ट्यागलाईन अर्धसत्य वा आधा झुटले भरिएको नै मान्न सकिन्छ । नेपालको जस्तो वानवे मार्केटमा त झन् यो ट्यागलाइन पटक्कै सबैले स्वीकार्ने हुनै सक्दैन । किनकी टुप्पोमा फसेकाहरुका लागि स्टक बजार एक क्रुर, निर्दयी पूँजी गुमेको क्षेत्र मात्र रहन्छ । स्टक मार्केट जोखिमले भरिएको क्षेत्र भएको हुनाले पनि यो सधै राम्रो (सुन्दर) हुन्छ भन्ने हुनै सक्दैन । जोखिमका कारण यो कहिले राम्रो र कहिले नराम्रो हुन्छ, अझ ठ्याक्क भन्दा यो कुनै व्यक्ति विशेषका लागि बहुत सुन्दर र अरुका लागि सबैभन्दा खराब ठाउँ बन्नसक्छ ।
यदि मार्केटले राम्रो प्रतिफल दिन्छ भने तेस्तो मार्केट प्राय राम्रो (सुन्दर) र कहिलेकाहीँ मात्र नराम्रो (जोखिमपुर्ण) भन्न सकिन्छ । तर नेपालको जस्तो न्यून प्रतिफलदेखि शून्य प्रतिफल दिने कम्पनीको बिगबिगी भएको, प्रतिफल संकुचन हुँदै गएको र मनिपुलेटिभ मार्केट सुन्दर हुन्छ भनेर कसैले जिद्दी गर्नु बिल्कुल असुहाउँदो मान्न सकिन्छ । कर्नरिङ, सर्कुलर ट्रेडिङ, इन्साइडर, मनिपुलेसन जस्ता गतिबिधीले भरिएको कुरुप र निर्दयी मार्केटलाई सुन्दर भन्नु आम तथा सोझासाझा लगानीकर्ताको आँखामा छारो हाली फसाउनु बाहेक अरु केही हो भन्ने लाग्दैन । विश्वभरका स्टक बजारमा लगानीमा हुने जोखिम बारे उद्घोषण घोषणामा सम्भावित जोखिमको क्षेत्र हो भनी जानकारी दिइरहँदा नेपालमा भने सेयरबजार सुन्दर छ भनि एकोहोरो रट लगाइरहनु धोकाबाहेक अरु केही हुन पनि सक्दैन ।
यसर्थ सतही हचुवा र हावादारी तालमा मनिपुलेटिभ बजारलाई सुन्दर भनेर प्रपोगण्डा गर्नु आफैमा मनिपुलेसन हो । अवश्य पनि ति केहि अपरेटरका लागी बिना कुनै निर्देशन नियमनको यो मार्केट सुन्दर होईन, स्वर्ग नै पनि छ तर आम लगानीकर्तालाई पनि यो बजार सुन्दर बनाउनु छ भने यो मनिपुलेटिभ बजारलाई प्रतिफलयुक्त, स्थिर बजार बनाउनुको विकल्प छैन । यसका लागि नियामकले आफ्नो भूमिका निर्वाह गरि लगानीकर्तालाई सूसुचित तथा स्टक मार्केटका सबै सहभागीलाई जिम्मेवार बनाएर बजारलाई केही हदसम्म सुन्दर बनाउन भने पक्कै सकिन्छ ।