लगातार पाँच कारोबार दिनसम्म घटेको सेयरबजारमा मङ्गलबार सम्भावित ट्रेन्ड परिवर्तनको आशा दिने क्यान्डल बनेको छ ।
आज नेप्सेमा गत दुई महिना यताकै न्यून भोल्युमसहित इन्भर्टेड ह्यम्मर क्यान्डल बनेको छ । यी दुवै अवस्थालाई हेर्दा प्राविधिक विश्लेषकहरुले आउँदा दिन ट्रेन्ड परिवर्तनको सम्भावना देखा परेको बताएका छन् । घट्दो बजारमा कारोबार घट्दै जानू बिस्तारै बिक्री दबाब कम हुँदै गएको विश्लेषकहरु बताउँछन् । यसका साथै डाउनट्रेन्डको अन्त्यतिर बन्ने इन्भर्टेड ह्यम्मर क्यान्डलले पनि बजारमा अब करेक्सन फेज सकिन लागेको इङ्गित गर्ने विश्लेषकहरुको भनाई छ । उसो त आजको क्यान्डललाई सुटिङ स्टारकै रुपमा लिएर बजारले ओरालो यात्रा जारी राख्ने पनि कतिपयको बुझाई छ तर पछिल्लो बजार घटिरहेको परिपेक्षमा उक्त क्यान्डल इन्भर्टेड ह्याम्मरकै रुपमा लिनुपर्ने विश्लेषकहरुको राय छ ।
आरएसआई पनि जारी ट्रेन्ड अनुसार तुलनात्मक रुपमा ४१.८७ को ओभरसोल्ड विन्दुमा रहँदा बजारले हाइअर लो सेटअप बनाउँदै अब उकालो यात्रा लाग्ने सम्भावना देखिन्छ । यसै गरि बोलिन्जर ब्यान्ड हेर्दा बजारले आज लोअर ब्यान्डमा सपोर्ट लिएर हल्का बाउन्स भएको देखिन्छ । भोल्युम पनि घट्दो क्रममा बोलिन्जर ब्यान्डको लोअर ब्यान्डमा बजारले सपोर्ट लिँदा यस टुलले पनि बजारमा केही रिकभरी आउने सम्भावना रहेको बुझ्न सकिन्छ ।
एमएसिडी हेर्दा भने बेस लाइन भन्दा माथि नै एमएसिडी र सिग्नल लाइन रहे पनि ती लाइन तीव्र रुपमा गिरावट हुँदै बेस लाइन क्रसओभर हुनेतर्फ बढिरहेको छ । यसरी हेर्दा भने बजारले बेस लाइन माथिबाट नै छिटै पुलब्याक नलिए केही समय बियरिस मोमेन्टममा अगाडि बढ्ने देखिन्छ । हिस्टोग्रामहरु गाढा राता र लामा लामा बन्दै जाँदा घट्दो बजारको मोमेन्टम अझै बलियो रहेको बुझ्न सकिन्छ भने भाद्र ६ गते बनेको बियरिस क्रसओभर कायमै रहेको छ । एमएसिडीले बियरिस ट्रेन्ड कायम रहनेतर्फ संकेत गरे पनि इमिडिएट रुपमा अन्य सिग्नलहरु हेर्दा एक अपट्रेन्डको सम्भावना रहेको प्राविधिक विश्लेषकहरुको धारणा रहेको छ ।
नोट : सेयरबजार जोखिमयुक्त लगानीको क्षेत्र हो । माथिको विश्लेषणमा मात्र आधारित नरही, लगानी गर्दा आफ्नो स्वविवेक प्रयोग गर्नुपर्दछ ।